प्रकाश पाक्साँवा
तेह्रथुम १८ भदौ तेह्रथुमको छथर सुक्रबारेमा लाग्दै आएको ऐतिहासिक भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा दमक झापाले चुमेको छ । हतुवागडी गाउँपालिका भोजपुरलाई २३–२५,१७–२५ र १७–२५ को सोझो सेटमा हराउँदै दमक नगरपालिका झापाले चुमेको हो ।
गत बर्षको विजेता बनेको दमकले यसबर्ष पनि विजयी बन्दै दोश्रो पटक छथर गाउँपालिका अध्यक्ष कप हात परेको छ । विजयी बने सँगै नगद १ लाख ५१ हजार चौथो गाउँपालिका अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । त्यस्तै उपविजेता बनेको हतुवागडीले ७५ हजार,ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
विजयी टिमहरुलाई छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले पुरस्कार प्रदान गर्नु भएको थियो । गत भदौ १४ गतेदेखी सुरु भएको प्रतियोगिता १७ गते सम्पन्न भएको हो । प्रतियोगितामा गृह जिल्ला तेह्रथुमका साथै धनकुटा,भोजपुर,झापा,मोरङ र ताप्लेजुङका १३ वटा टिमहरुको सहभागीता रहेको भलिबल खेल संयोजक राजकुमार थापाले जानकारी दिनु भयो । छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।