प्रकाश पाक्साँवा
तेह्रथुम ११ भदौ
तेह्रथुमको छथर गाउँपालिका ४ फाक्चामारामा रहेको सिंहदेवी पशुपालन कृषक सहकारी संस्थामा ७५ जना शेयर सदस्य रहेका छन । २०६९ सालमा स्थापना भएको यो सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरुको लागि विभीन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सहकारी संस्था स्थापना सँगै किसानहरुले उत्पादन गर्दै आएको दुध संकलनलाई संकलन गरी बिक्री गर्दै आएको छ । ग्रामिण क्षेत्रमा स्थापना भएको यो सहकारीले किसानहरुको दुध संकलनका साथै कृषक लक्षित विभीन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । सहकारी संस्थाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोग तथा छथर गाउँपालिका पशुसेवा शाखाको सहजीकरणमा दुध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । सोमबार एक वितरण कार्यक्रमका प्रमुख अतिथी तथा छथर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष पुष्प कार्कीले वितरण गर्नु भएको छ ।

कृषकले पाउँदै गरेको मुल्यमा मन्त्रालयले प्रति लिटर २ रुपैयाँ अनुदानको रुपमा प्रदान गरेको सहयोगलाई वितरण गरिएको हो । गाईपालन गरी दुध उत्पादन गर्दै आएका किसानलाई यो कार्यक्रमले उत्साह दिएको झमकबहादुर कार्कीले बताए । ‘हामी गाईपालन गरी दुध उत्पादन गर्दै आएका किसानलाई थोरै भएपनी राहत मिलेको छ । सरकारले यसरी किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनु पर्छ । दुध बिक्री नै हाम्रो मुख्य आम्दानी श्रोत हो यस कारण पनी हामीलाई टेवा पगुेको महशुस गरेका छौ, कार्कीले भने ।’
यस्तै सहकारी संस्थाले धेरै दुध उत्पादन गर्ने किसान झमबहादुर लिम्बु,नियमित दुध बिक्री गर्ने कर्णबहादुर कार्की,गुणस्तर दुध बिक्री गर्ने संगिता बानियाँ र सफा दुध बिक्री गर्ने टेकबहादुर कार्कीलाई पुरस्कृत गरेको छ । सहकारी संस्थाले गाइपालक किसानलाई गाइदाना दिएर सम्मान गरेको हो । सहकारी संस्थामा आबद्ध किसानहरुले १५ रुपैयाँ देखी ९ हजार ८ सय रुपैयाँ सम्म अनुदान पाएको सहकारी संस्थाका अध्यक्ष सुर्य कार्कीको भनाई छ । गत पुषदेखि असार १५ सम्मको दुध संकलनको तथ्याङको आधारमा किसानहरुलाई अनुदान वितरण गरिएको हो । यस सहकारी संस्थामा करिब ७ महिनामा मात्रै १ लाख १८ हजार ५ सय ८४ रुपैयाँ प्राप्त भएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार सहकारीको अभीयानमा १ सय २० पशुलाई लम्पी स्कीन विरद्धको खोप लगाइएको छ ।
सहकारी संस्थाले गाउँमै दुध संकलन सुरु गरे सँगै यहाँका किसानहरुले उत्पादन जातका गाईपालन गर्न थालेका छन । १ लिटर देखी २५ लिटर सम्म यहाँका किसानले दुध उत्पादन गरी बिक्री गर्दै आएका छन । स्थानीय,प्रदेश सरकार सँग साझेदारी गरी सहकारीले कार्यक्रम गरेपछी किसानहरु लाभान्वित भएका छन ।