मोरङ जिलाको बेलबारीमा सम्पन्न दोश्रो डाँगीहाट प्रदेश स्तरिय फुटवल प्रतियोगिताको उपाधी धनकुटाको सिधुवा सिंहदेवी फुटवल क्लवले चुमेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा धरान फुटवल क्लवलाई ट्राइब्रेकरमा पराजित गर्दै सिँधुवा सिंहदेवीले उपाधी चुमेको हो ।
उपाधी चुमेसँगै सिंहदेवीले नगद १ लाख ५१ हजार रुपैया सहित ट्रफी प्राप्त गर्यो । भने उपविजेता धरान फुटवल क्लवले ७५ हजार ५ सय रुपैया सहित ट्रफीमा चित्त वुझायो ।
निर्धारित समय एक÷एक गोलको वरावरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । खेलको ५ औं मिनेटमा विरेन्द्र लिम्बूले गोल गर्दै सिंहदेवीलाई अग्रता दिलाएका थिए । तर धरानका मिलन राईले गोल गर्दै खेल वरावरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा सिंहदेवीको लागि अभिषेक लिम्बू, अशिम राई र विशाल भण्डारीले गोल गर्न सफल भए । धरानका लागि एक मात्र सान्त्वना गोल मिलन राईले गरेका थिए । भने विकु राई र रोमन लिम्बूको प्रहार सिंहदेवीका गोलकिपर सुदिप चौधरीले रोकेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच सिंहदेवीका गोलकिपर सुदिप चौधरी घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । त्यस्तै विधागततर्फ सिंहदेवीका कप्तान समेत रहेको विशाल भण्डारी वेष्ट डिफेन्डर, वेष्ट मिडफिल्डर अशिम राई र विश्वास श्रेष्ठ वेष्ट कोच घोषित भए । धरान फुटवल क्लवका गोलकिपर सचिन श्रेष्ठ, प्रतियोगिता भर दुई गोल गर्दै मिलन राई सर्वाधिक गोलकर्ता वन्न सफल भए । विधागत तर्फका उत्कृष्ट भएका खेलाडीहरुले नगद ५÷५ हजार रुपैया सहित ट्रफी प्राप्त गरेका थिए ।
केहि दिनअघि मात्रै इटहरीमा सम्पन्न स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गर्दै सिधुँवा सिंहदेवी फुटबल क्लब उपविजेता वनेको थियो ।
सिँधुवा सिंहदेवी क्लवलाई हौसला प्रदान गर्न छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, ६ नं. वडाध्यक्ष दिपक गुरुङ, सिंहदेवी क्लवका अध्यक्ष दिवश खड्का, पूर्वखेलाडी लक्ष्मी नारायण श्रेष्ठ लगायतको टोली डाँगिहाट पुगेको थियो ।
बेलबारी–९ स्थित डाँगिहाट जागृती युवा क्लबको आयोजनामा डाँगिहाटस्थित काली माबीको खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक आर्जु राईस मिल र सह प्रयोजक बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार बहुमुखी कृषि फार्म र दोस्रो पुरस्कार डाँगीहाट जापान मैत्रि समाजले सहयोग गरेको छ । प्रतियोगितामा पुर्वका चर्चित ८ क्लबको सहभागिता रहेको थियो ।