जिरेनियम फूल स्याहार गर्न र हुर्काउन सजिलो छ । घाम लाग्ने ठाउँमा रोप्न सकिने यो फूल वसन्तदेखि शरद् ऋतुसम्म ढकमक्क फुलाउन सकिन्छ । धेरै घरमा अहिले जिरेनियम फूल सजाएको देखिन्छ । यो फूल कसरी रोप्ने र कसरी सजाउने भन्ने विषयमा यहाँ केही चर्चा गरिन्छ ।
जिरेनियम फूलको लागि बलौटे माटो एकदम राम्रो हुन्छ । फूल रोप्नुअघि बलौटे माटोमा कम्पोस्ट मल मिसाएर रोप्नुपर्छ । बलौटे माटोमा खरानी, हड्डीको धुलो, कम्पोस्ट मल र पिना पनि मिसाउन सकिन्छ ।
जिरेनियम फूल आउटडोर र इन्डोर दुवै रुपमा रोप्ने गरिन्छ । यसलाई भुईंमा, गमलामा वा हयांगिङ गमला जहाँ पनि रोपेर सजाउन सकिन्छ । आजभोलि ह्यांगिङ गमलामा रोप्ने चलन धेरै छ । जिरेनियम फूल रातो, पहेंलो, गुलाबी, बैजनी, सेतो, छिरबिरेलगायत १२ देखि १५ रंगमा पाइन्छ ।

कसरी सार्ने ?
जिरेनियम फूलको डाँठ कटिङ गरेर सार्न सकिन्छ । यसलाई जाडोयाम सकिएपछि वैशाख-जेठतिर रोप्न सकिन्छ । यसबेला फूल रोप्दा वा सार्दा ४५ दिनमा फुल्न सुरु गर्छ । वर्षायाममा पनि रोप्न सकिन्छ तर यसबेला पानी धेरै पर्ने भएकाले जरा कुहिएर मर्ने सम्भावना हुन्छ । त्यसैले यो फूल रोप्दा सजिलै पानी चुहिने गरी प्वाल भएको गमला वा भाँडामा रोप्नुपर्छ ।
मल र पानी कसरी हाल्ने ?
जिरेनियम फूललाई हुर्काउन सजिलो छ । यसमा गर्मी मौसममा दिनको एकचोटि र जाडोयाममा दुई दिनको फरकमा पानी हाल्नुपर्छ । घाम लागेको समयमा पानी हाल्नु हुँदैन । त्यसका लागि बिहान र बेलुकाको समय उपयुक्त हुन्छ । दिउँसोको घाममा पानी हाल्दा तातो र चिसोको मिश्रणले फूलको जरा कुहिने सम्भावना हुन्छ ।
यसको निरन्तर फुलाउनका लागि अर्गानिक र रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ । तर जिरेनियमका लागि अर्गानिक मल नै बढी लाभदायक हुन्छ ।
रोगबाट बचाउने उपाय
जिरेनियम फूलमा फङ्गस अर्थात् सेतो ढुसी आउने समस्या हुन्छ । यसलाई कम गर्न फङ्गिसाइड औषधि छर्किनुपर्छ । एक लिटर पानीमा फङ्गिसाइड दुई ग्राम राखेर हप्तामा एकपटक मात्र बोटमा छर्किनुपर्छ । यदि ढुसी बढी परेको वा पात धेरै सेतो भएको खण्डमा हप्ताको दुईपटकसम्म हाल्न सकिन्छ । यसैगरी खुम्लेकीरा, झुसीलकीराबाट फूलको बिरुवालाई जोगाउन माटो स्वस्थ राख्नुपर्छ ।
कति वर्षको आयु हुन्छ ?
जिरेनियम फूल बाह्रैमास फूल्ने फूल बिरुवा हो । यसको आयु लगभग दुईदेखि साढे दुई वर्ष हुन्छ । यसलाई सुरक्षित तरिकाले हेरचाह र सार्न सकेमा ६ वर्षसम्म पनि जोगाउन सकिन्छ ।
मूल्य कति ?
फूलको साइज, प्रजातिअनुसार यसको मूल्य फरक-फरक हुन्छ । सामान्यतया १०० रुपैयाँदेखि ८५० रुपैयाँसम्म पर्छ ।
(कर्माचार्य भक्तपुर सूर्यविनायकस्थित फ्लावर नेपालका सञ्चालक हुन् ।)