कविता

सेल्फी (९)

– हाङ्युग अज्ञात 

हामी मान्छे हो 

नाङ्लोमा झिकुङ्न मुटु

यै जीवनले सिकायो त 

अनि उसले भन्यो

सानो मुटु फुत्रुक् फुत्रुक् उफ्रिन्छ,

विशाल मुटु त

नाङ्लोको परिधिभन्दा बाहिर

उत्ता अर्कैतिर गएर पनि 

त्यो मुटुले मान्छेको गीत गाउँछ

गीत के भन्नू !

त्यै भिज्दैभिज्दै पानीमा …

व्याख्याको कुनै छेउकुना छैन जीवनको

यै जीवन

तर हामी बाँध्न खोज्दछौं,

साँच्चै ! केकेमा बाँध्न खोज्दछौं जीवन ?

यस्सरी नै 

यो जीवन बाँच्ने प्रयत्न गरेँ

त्यो उकालोमा 

उसले बोक्दै आएको भुल्टुङ 

आज्ज त हराएछ !

कत्ता हरायो ?

खोजिनितिको कुरो नि भएन,

कस्तो कल्पना गरेको थिएँ

कल्पना गर्नु पाउँछु होला नि त !

एउटा उदाउँदो घाम थियो त्याँ

कस्सरी उदाउँछ घाम कैले देख्नू भा छ ?

हो !

ऊ त्यै घामजस्तै उदाएर निस्क्यो डाँडामा 

जीवन झुल्क्यो त

ऊ झुल्किएपछि हामी पनि झुल्कियौँ त,

अनि 

अल्लिकिति दार्शनिक गफ

‘कत्ताबाट कत्ता जाँदा कत्ता पुगिन्छ ?’

प्रश्नहरू आफ्फैसँग गर्नुपर्दो रहेछ कि त !

रेडिमेड प्रश्नहरूको काम छैन जस्तो पनि लाग्यो त

अनि उसले दिएका किताबहरू

झोलामै बोकेर हिन्छु पनि भनेकै हो

तर बिर्सेँ आज पनि किताबहरू

किताबहरू त सान्त्वना रहेछ मनको,

कि मलाई त 

किताब जीवनजस्तै हुनुपर्छ भन्ने लाग्दछ

त्यो भुल्टुङ् पनि आज हराइगएछ

साँच्चिकै बाँच्नुको लागि त 

ऊ जस्तै हुनुपर्छ भन्ने पनि लाग्दछ

ऊ जस्तै हुनुको लागि त फेरि 

उसले भोगेका भोगाइहरूमा म घुस्नु पर्दछ कि त !

अनि त मलाई लाग्यो

जीवन सम्मानको नाम हो,

आज्ज धेरै दिनपछि 

जीवनलाई भेट्न पुगेँ

र आफ्फैलाई भेटेजस्तो लाग्यो

मलाई लाग्यो त

लागेपछि लाग्यो, लाग्यो त !

अनि को हो जीवन नसोध्नू 

किनभने जीवन 

तपाईं हामी हरेकभित्र छ ।

(कवि हाङ्युग अज्ञात सिर्जनशील अराजकता साहित्यिक अभियानका सशक्त कवि हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *