छथर गाउँपालिकाद्वारा ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान,

✍️ प्रकाश पाक्साँवा,
तेह्रथुम २३ असार
तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले ५४ जना ज्येष्ठ एकल पुरुषलाई नगदसहित सम्मान गरेको छ । “समृद्ध छथर निर्माणको आधार, शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार” भन्ने नाराका साथ सञ्चालित उक्त कार्यक्रममा प्रत्येक एकल पुरुषलाई १२ हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको हो ।
२०७७ सालदेखि संचालनमा ल्याइएको यो कार्यक्रम अन्तर्गत नेपाल सरकारको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहनु परेका, ६० वर्ष उमेर नाघेका एकल पुरुषहरूलाई गाउँपालिकाले अभिभावकत्व प्रदान गर्दै नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।
“जसरी एकल महिलाको पहिचान र संरक्षणका लागि राज्यले पहल गरिरहेको छ, त्यसरी नै समाजमा ओझेलमा परेका एकल पुरुषहरूको जीवन सहज बनाउन हामीले यो कार्यक्रम अघि सारेका हौँ ।” अध्यक्ष तिगेलाले भने । कार्यक्रम सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, छथर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको शाखा प्रमुख रोशक कार्कीले बताउनु भयो ।
सम्मान प्राप्त गरेका छथर गाउँपालिका ५ का गोबर्धन लिम्बुले यो कदमले आफू जस्ता वृद्ध पुरुषहरूलाई ठूलो राहात मिलेको बताए । “अहिले काम गर्न सक्ने उमेर छैन, कमाउन सक्ने स्रोत पनि छैन । यस्तो सहयोगले मनैदेखि राहत मिल्यो,”लिम्बुले भने । गाउँपालिकाले ज्येष्ठ नागरिकहरु लक्षिक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।