सेयर बजारमा बैंकिङ समूहको शक्ति घट्दै, हाइड्रोपावरको बढ्दै

सेयर बजारमा सबैभन्दा शक्तिशाली रहेको वाणिज्य बैंकहरूको समूह पछिल्लो समय कमजोर बन्दै गएको छ । हाइड्रोपावर तथा अन्य समूहको शक्ति बढ्दै जाँदा बैंकिङ समूह कमजोर बन्दै गएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्ष माघ मसान्तसम्म बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा ३४.६ प्रतिशत रहेकोमा यो माघ मसान्तसम्म आउँदा २६.५ प्रतिशतमा झरेको छ ।

वाणिज्य बैंकहरूको कुल सूचीकृत सेयर मूल्य नै यो समूहको पूँजीकरण हो । वाणिज्य बैंकहरूको सेयर मूल्य घट्दा पूँजीकरण घटेको हो । गत वर्ष माघ मसान्तमा बजारको कुल पूँजीकरण (सबै समूहका सेयरको मूल्य) ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो ।

त्यसमध्ये बैंकिङ समूहको पूँजीकरण रकम १० खर्ब ६३ अर्ब थियो । तर, यो माघ मसान्तसम्म कुल पूँजीकरण ३३ खर्ब ३० अर्ब पुगेको छ । यसमा वाणिज्य बैंकहरूको कुल पूँजीकरण ८ खर्ब ७६ अर्ब २५ करोडमा झरेको छ । कुल पूँजीकरण रकम बढ्दा पनि बैंकिङ समूहको पूँजीकरण घटेको छ ।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स तथा बीमा कम्पनीहरूको कुल पूँजीकरण हिस्सा ५७.३ प्रतिशत छ । गत वर्षसम्म यो हिस्सा ६५.८ प्रतिशत थियो । नयाँ बीमा कम्पनी थपिँदा बीमा समूहको पूँजीकरण हिस्सा केही बढेको छ ।

गत माघमा यो समूहको पूँजीकरण हिस्सा १४.९ प्रतिशत रहेकोमा यो वर्ष माघ मसान्तसम्म १६ प्रतिशत पुगेको छ । हाइड्रोपावर समूहको पूँजीकरण पनि बढेको छ ।

कुल पूँजीकरणमा यो समूहको हिस्सा गत वर्ष माघ मसान्तसम्म १०.८ प्रतिशत रहेकोमा यो माघ मसान्तमा १५.९ प्रतिशत पुगेको छ । नयाँ हाइड्रोपावर कम्पनी थपिने, हकप्रद र बोनस सेयर थपिने तथा अन्य क्षेत्रका तुलनामा यस क्षेत्रका कम्पनीको मूल्य पनि धेरै नघटेकाले हाइड्रोपावरको पूँजीकरण हिस्सा उल्लेख्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *