लिम्बु समुदायको मौलिक पर्वः ’सिसेक्पा तङनाम’

प्रकाश पाक्साँवा
तेह्रथुम १ साउन
लिम्बु समुदायको मौलिक संस्कृतिको धनी भण्डारमा अनेकौं पर्वहरू छन्, जसले उनीहरूको जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र आध्यात्मिक विश्वासलाई झल्काउँछ। साउन १ गते मनाइने सिसेक्पा तङनाम त्यस्तै एक महत्त्वपूर्ण पर्व हो, जसलाई ‘साउने सङ्क्रान्ति’का रूपमा पनि चिनिन्छ ।
यो पर्व मनाउन लिम्बुहरू एक दिन अघिदेखि नै तयारीमा जुट्छन्। बिहानै उज्यालो भएपछि गाउँका मानिसहरू खेतबारी र वनजङ्गलतिर लाग्छन्। उनीहरूले भर्खरै पाकेका अन्नका बाला, फलफूल, बाबियो र अन्य हरिया पातहरू सङ्कलन गर्छन्। यी सामग्रीहरूलाई सिसेक्पा भनिन्छ। यी सङ्कलित वस्तुहरूलाई बाबियोको हरियो डोरीमा लहरै मिलाएर उनेर घरको मूलढोकामाथि सिउरेर झुन्ड्याउने परम्परा छ। यो कार्यले आफ्ना इष्टदेवलाई सम्मान प्रकट गर्ने र प्रकृतिले दिएको नयाँ उपजको स्वागत गर्ने भाव बोकेको हुन्छ।
सिसेक्पा तङनामको दिन, लिम्बु परिवारमा विशेष चहलपहल हुन्छ। सबै सदस्यहरू मिलेर घरमै पाकेका अन्न र फलफूलका परिकार बनाएर सँगै खान्छन्। यो दिन घरभित्र मीठा–मसिनो खानेकुराको बास्ना फैलिन्छ र परिवारका सदस्यहरूबीच रमाइलो गफगाफ चल्छ। यो सामूहिक भोजनले परिवारमा एकता र सद्भाव बढाउँछ ।
पर्वको सबैभन्दा विशेष क्षण साँझपख सुरु हुन्छ। जब सबैले खानपिन गरिसकेका हुन्छन्, गाउँघरमा अचानक एक किसिमको अनौठो ध्वनि गुन्जिन्छ। कतै बन्दुक पड्केको आवाज आउँछ, कतै थाल, झ्याम्टा, च्याबुङ र नाङ्लो ठोकेको आवाजले वातावरण गुञ्जयमान हुन्छ । यो ध्वनि जथाभावी बजाइएको नभई यसको गहिरो अर्थ छ ।
यो पर्वमा परिवारका बालबालिकादेखि युवायुवतीसम्म सबै सहभागी हुन्छन्। घरमूलीको निर्देशनमा उनीहरूले घरका प्रत्येक कुना, कोठा र घर वरिपरि यी सामग्रीहरू बजाउँदै घुम्छन्। उनीहरूको विश्वास छ कि यसरी ठूलो आवाज निकालेर घरभित्र रहेका सबै खराब तत्व, रोग र नकारात्मक शक्तिहरूलाई बाहिर खेदाइन्छ। यस क्रममा उनीहरू आफ्नै मातृभाषामा “सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ“ भन्दै गाउँछन्।
सदियौँदेखि पुस्तान्तरण हुँदै आएको यो पर्व वास्तवमा किसानहरूको जीवनशैली र उनीहरूको आशाको प्रतीक हो। यो पर्वले विगतमा भोगेका दुःख, अनिकाल र पीडाहरूलाई बिर्सेर नयाँ वर्षमा सुख, समृद्धि र सहकालको कामना गर्ने सन्देश दिन्छ। पछिल्लो समयमा लिम्बु समुदायले आफ्नो मौलिक पर्वको संरक्षणमा विशेष ध्यान दिन थालेका छन्। यसैको फलस्वरूप, धेरै स्थानीय सरकारले सिसेक्पा तङनामको दिन सार्वजनिक बिदा दिन थालेका छन्, जसले यस पर्वको महत् वलाई थप उजागर गरेको छ ।