“भदौपुर्णे मेलाको सम्झनाः हुकार र हराएका अनुहारहरू”

– सुसुवेन सञ्जय तुम्बाहाङ्फे
– यादहरूको चाङबाट
एक दिन म्यासेन्जरमा मेरा मित्र (पत्रकार) प्रकाश पाक्सांवाजीले घचघच्याउनुभयो, “हौ आदाङ्बा, भदौपुर्णे मेलाको यादलाई अक्षरमा उराल्नुहोस् न, कस्तो यादगार बन्छ!”
म प्रकाशजीको घचघच्याइले अचानक सोह्र–सत्र वर्ष पुरानो यादमा नोस्टाल्जिया हुँदै फर्किएँ। जनयुद्ध घोषणा हुनुभन्दा अगावै गाउँघरमा साँच्चै रमाइलो थियो। हाटको रमाइलो एक दिनदेखि एक हप्तासम्म गाउँमा लाग्ने मेलाहरूको रौनकको स्वाद अर्कै हुन्थ्यो। सांस्कृतिक कार्यक्रमहरू, पर्वहरू इङने, नादङ्, यायेम्मा, तङसिङ्, बिहे, सुदाइँ, सिसेक्पा (साउने सङ्क्रान्ति), कक्फेक्वा (माघे सङ्क्रान्ति) साथै साना–ठूला अनेक चाडहरूको महत्त्व र उल्लास अर्कै हुन्थ्यो। मान्छेहरू खुसी थिए, दुखमै पनि सुखी थिए।
जनयुद्ध प्रारम्भ भएदेखि गाउँमा मेलाहरू लाग्न बन्द भए। मान्छेहरू जम्मा भएर रमाइलो गर्ने वातावरण रहेन। त्यो एक खाले परिस्थिति आइप¥यो, जुन सबैले बुझ्नुपर्ने परिस्थिति थियो। तर, त्यही परिस्थिति ले भविष्यमा ती सब कुराहरूलाई नमिठो गरी विस्थापित गराइ दियो। फेरि पनि ती विस्थापितहरूलाई पुनस्र्थापित गर्न त खोजिएको छ तर त्यस्तो दुरुस्त गुलजार चाहिँ हुन सकिरहेको छैन। एक वित्ते स्मार्टफोनको युगमा अब त्यो कुन तवरमा बौरिन सक्ला? बौरिएला? ठ्याक्कै दाबी गर्न सकिन्न।
ती पलहरू साँच्चै अविस्मरणीय थिए, ती यादहरू साँच्चै पटक–पटक सम्झन लायक नै थिए। त्यस्ता यादगार कुराहरू अनगिन्ती छन्। लेख्न थालिए शब्दहरूको निकै ठूलो चाङ बन्न सक्छ। त्यही चाङबाट निकालेर केही शब्दहरू आज उराल्न मन लागेको छ यो भदौपुर्णे मेलाको भदौरे सम्झना।
मेला जानुको पूर्व योजना
मेलामा जानलाई के–के चाहियो? सम्भवतः पहिला खर्च, त्यसपछि दौँतरी साथीभाइ, चेलीबेटीहरू। त्यसका लागि हाम्रो दुई–तीन महिना अगाडिदेखि नै पूर्व योजनाहरू बन्थे। यो योजनाको तवर हामीभन्दा अगाडिको पुस्ता, हाम्रा दिदीहरूको पुस्तादेखि मैले सिकेको हुँ। अरूले पनि त्यसरी नै आफ्ना दाइ–दिदीहरूबाटै सिकेका हुन्।
हाम्रा दिदीहरूको पालामा मेला जाँदा मेलामा खाजा किनेर खाने प्रचलन सायद कमै थियो। किनकि त्यतिबेला घरबाट खाजा बोकेर लैजाने अनि मेलाको एक कुनामा या फर्किँदा बाटोमा गोलाकार बसेर खाजा खाने चलन थियो। आफ्नै खेतमा उब्जाएको धानको चामलको चाम्ब्रे, आफ्नै बारीमा फलाएको आलु, इस्कुस, मूलाका भुटुवा तरकारी, भर्लाको पात या सालको पातले बुनिएको टपरीमा पोको पारेर उनीहरूको झोलामा बोकिन्थ्यो। साथमा चेलीबेटीहरूले पारेको तीनपाने र कोदोको जाँड पनि हुन्थ्यो। पाकेको तातो चाम्ब्रेमाथि तोरीको काँचो बाकुलो तेल लगाइसकेपछि त्यसबाट आउने मगमग बास अझै पनि मेरो नाकमा ताजै छ। मैले त्यो अन्तिम समयको थोरै रहलपहल मात्र भेट्याएछु, तैपनि मलाई अनुभव छ।
त्यसबेला खर्च जुटाउन आफैँ बन्दोबस्त गर्नुपथ्र्यो। घरबाट खर्च मिल्ने अवसर कमै हुन्थ्यो। बारीमा उब्जाएको तरकारी बेचेर या अरूको काममा ज्यालादारी गरेर खर्च जुटाउनुपथ्र्यो। मैले अरूकोमा ज्यालादारी काम गरेर जुटाउँथे। मेरा दौँतरीका सबैले प्रायः त्यसै ग¥यौँ। एक दिनको पचास रुपैयाँ पाइन्थ्यो ज्याला। केही दिनसम्म ज्यालादारी गरे मेलाका लागि खर्च पुग्थ्यो। उतिबेला मैले एक सयदेखि दुई सयमा लगभग थुप्रै मेला भरेछु। अहिले एक हजार लिएर एक सामान्य होटल छिर्दा त्यो एक बसाइका लागि मात्र पनि पुग्दैन। यो एक–दुई दशकमा महँगी कसरी चुलिएको हो, सम्झिँदा आश्चर्य लाग्छ। विश्व पुँजीवादी बजारका ठेकेदारहरूको मनपरी र दादागिरीले गर्दा आज बजारको स्थिति थामि नसक्नुले अस्वाभाविक हुन पुगेको छ।
खर्चको जोहो र मेला भर्न जानेहरूको समूह एक महिना अगाडि नै बन्दोबस्त भइसक्थ्यो। जसमा गाउँका (माइती र चेली) अनिवार्य सहभागी हुनुपथ्र्यो। माइती–चेली सहितको लर्को निकै लामो नै हुन्थ्यो। बाटभरि पकन्दी (कुर्लिनु) खेल्दै, मजाक गर्दै जाँदा लामो बाटो छिट्टै कटेको महसुस हुन्थ्यो। अर्को गाउँका चेली–माइतीको लर्को पनि अर्को बाटोबाट आइरहेका–गइरहेका हुन्थे। एक लर्कोले वारिबाट पारिको लर्कोलाई “हुईईई…..“ भनी बोलाउँथ्यो। पारिको लर्कोबाट “हुईईई….“ गर्दै जवाफ आउँथ्यो।
कहिलेकाहीँ जुकाहरूले दुःख दिन्थ्यो। कुनै चेलीहरू जुकादेखि औधी डराउने पनि हुन्थे। उनीहरूको खुट्टामा जुका प¥यो कि दुई–तीन डिल तलसम्म उफ्रेर चिच्याउँदै रुँदै भाग्थे। हामी माइती खलक चाहिँ त्यो देखेर जोडले हाँस्थ्यौँ र त्यो जोक एक सालसम्म गरिरहन्थ्यौँ। बजार पुग्न लाग्दा विशेष चेलीहरूले शृङ्गार गर्ने गर्थे, लुगाहरू, गहनाहरू लगाउँथे। त्यतिन्जेलसम्म उनीहरूभन्दा अलि तल उभिएर चेलीहरूको पहरेदार माइतीहरूले गर्नुपथ्र्यो। बिना चेलीबेटी र बिना माइती मेला जानु लाजमर्दो या केही नपुगे, केही नभएजस्तो हुन्थ्यो। अर्थात् बिना फूलको बगैँचाजस्तो हुन्थ्यो, बिना मालीको बगैँचाजस्तो देखिन्थ्यो। चेली÷माइती सहितको मेला भर्न जाने चलनको सायद त्यो अन्तिम समय थियो। अहिले त त्यो चलन लोप भइसक्यो भन्दा फरक पर्दैन।
छथर लिम्बुवानका ती मेलाहरू
छथर लिम्बुवानमा थुप्रै चर्चित मेलाहरू थिए। मैले भरेका र सम्झनामा भएका केही मेलाहरू मैले यतिबेला सम्झिँदा मेरै गाउँ छथर जोरपाटी गाउँपालिका–पुसे मेला (परेवादिन पिपुरीबुङ), लाकलाके मेला (ताम्लिङ), जेठपुर्णे मेला (सिन्धुवा); छथर गाउँपालिका–भदौपुर्णे मेला (हमरजुङ शुक्रबारे), राँके मेला (पञ्चकन्या पोखरी), रामनवमी मेला (सुदाप); लालिगुराँस नगरपालिका–खोला बजार मेला (दागपा)।
मैले यी मेलाहरू भर्ने अवसर प्राप्त गरेछु। यी मेलाहरूमा स्थानीय उत्पादनका वस्तु सामग्रीहरू बिक्री वितरण हुन्थे। आफन्तहरूको जमघट हुन्थ्यो। यक्थुङ् लिम्बू समाजका थाङ्बेन् मेन्छ्या (तन्नेरी तन्नेरी) हरू भेला हुने, पालाम गाउँदै, यालाक् नाच्दै प्रेम आदानप्रदान गर्थे। त्यो पुस्तालाई मैले अन्तिम चरण मात्रै महसुस गर्न पाएँ। मेरा दिदीहरूले तरेबा (पाहुना) को हात समातेर रातभर यालाक् नाचेको, पालाम भनेको मैले धेरै पटक दर्शक–श्रोता भएर सुन्ने र देख्ने अवसर पाएको छु। हामीले पनि नाच्न त नाच्यौँ तर त्यो परिपक्वता, लयमा नाच्न जानेनौँ।
कोठेबारी साग छ कि!
साइनो लाग्छ कि!!
तनादिक्पा तनन!
पालाम् भनन!!
यो अपरिपक्व शैलीको खेलाची पालाम् भने हामीले धेरैचोटि भन्यौँ किनकि हाम्रो पुस्तासम्म आइपुग्दा पालामले लय गुमाइसकेको रहेछ। अब त त्यो सङ्ग्रहित र रेकर्डित या स्टेजमा सीमित हुन पुगेको छ। भए पनि कुना कन्दरामा लुकेको अवस्थामा रहेको छ।
भदौपुर्णे मेला र भदौरे सम्झना
यतिबेला नेपालमा नेपाली महिनाअनुसार भदौ लाग्न आँटेको छ अर्थात् भदौपुर्णे आउन आँटेको छ। यो बेला (छथर गाउँपालिका, तेह्रथुम) शुक्रबारे बजार भदौपुर्णे मेलाका लागि तयारी गर्नमा कस्सिएको छ। मैले थाहा पाएअनुसार भदौपुर्णे मेला उठ्न थालेको बीसौँ वर्ष त पुगिसकेको छ। त्योभन्दा पहिलेदेखि नै उठेको हो, यसको ठ्याक्कै तिथि–मिति थाहा पाउन खोज नै गर्नुपर्छ। आजसम्म त्यो बजारले निरन्तरता पाइरहनु कम सुखद कुरा होइन। सम्झिँदा म बडो नोस्टाल्जिया भइहाल्छु।
मैले मेरो किशोरकालदेखि युवाकालसम्म सबैभन्दा धेरै पटक भरेको मेला यहीँ भदौपुर्णे मेला हो। मेरो घरबाट अलिकति टाउको उठाएर पूर्व छड्के हेरियो भने ठ्याक्कै यो बजार देख्न सकिन्छ। फटाफट हिँडेर गए दुई–अढाई घण्टा लाग्छ। मैले यो मेला फटाफट हिँड्दै गएर नै भरेको हुँ। त्यतिबेला बाटो पूर्ण रूपले पुगिसकेको थिएन। सायद यतिबेला मेरा मित्रहरू प्रकाश नाम्सामी, दिल प्रतीक्षा, मधुसूदन र बजार व्यवस्थापन समितिका साथीहरू यस पटक के–के आयोजना गर्ने, नगर्ने बारेमा छलफलमा व्यस्त होलान्। त्यतिबेलादेखि अहिलेसम्म यी मित्रहरू त्यहीँ छन् र त्यसरी नै मेलाको आयोजना गरिरहेछन्, मेला भरिरहेछन्। म अभागी चाहिँ खाडीमा छु र ती पुराना सम्झनाहरूको दहमा डुबेर हिरिक्क–हिरिक्क भइरहेको छु।
गुलजार त्यो शुक्रबारे भदौपुर्णे मेला
त्यो बखतको शुक्रबारे भदौपुर्णे मेला साँच्चै गुलजार हुन्थ्यो। छथर थुमका नौ–दस गाउँबाट मान्छेहरू आउँथे। तमोरपारी चौबीस थुमदेखि नुबुवाखोला पारी फेदाप मुसाङ्खेल, केबुक, सुङ्नाम सोल्मा र पाँचथर मौवासम्मका मान्छेहरूको पनि उपस्थिति रहन्थ्यो। सुनका गहनाले छपक्कै छोपिएका याक्थुङ्मा मेन्छ्या हरूको अर्को आकर्षण पनि विशेष रहन्थ्यो। त्यति विधि सुनका गहनाहरू ती याक्थुङ्माहरूले जोरजाम गर्नलाई कति सालसम्म पैकारी र पेवा गरे होलान्? म सोच्थेँ। लिम्बू समुदायका छोरीचेलीमा रहेको निहित अधिकार पैकारी र पेवाले उनीहरूलाई आर्थिक रूपमा कतै न कतै टेवा पु¥याइरहेको हुन्थ्यो। लिम्बू समुदायका छोरीचेलीमा आजसम्म त्यो पैकारी–पेवा प्रचलन कायम छ।
बिस्तारै घाम डुब्दै गएपछि भदौपुर्णे मेला पालामको लयले गुन्जिन थाल्थ्यो। रातभर हात समातेर एकै ठाउँमा थाङ्बेन् मेन्छ्या (तन्नेरी–तन्नेरी) हरू मिठो पालामका साथ यालाक् (धान नाच) नाच्न थाल्थे। बुढापाकाहरू हाक्पारे र ख्याली गाउँथे। कहिलेकाहीँ चल्थ्यो फौदारी पनि फेदापे, चौबीसे र छत्थरेको। त्यतिबेलाभन्दा अगाडिको महासुर फौदारीवाल लट्टे सार्की को किस्सा, गोद्रीलालको किस्सा खुब सुनिन्थ्यो। उनीहरू यति फुर्तिलो थिए कि मान्छेको टाउको–टाउकोमा टेकेर उफ्रिँदै कुद्न सक्थे रे। यो पनि किस्सा सुनिन्थ्यो कि चौबीसे र फेदापे अनि फेदापे र छत्थरे चिठी लेखेरै फौदारी गर्थे रे। फौदारी मेरो समयमा आइपुग्दा ग्याङफाइटमा परिणत हुन थालेको थियो।
भदौपुर्णे मेलाको मेरो लागि अर्को रमाइलो पक्ष थुम–थुमका नयाँ तरेबा–तरेमाहरूसँगको चिनारी। उतिबेला नयाँ तरेबा या तरेमा भेट भयो कि परिचय गर्नुपर्ने अनिवार्य चलन थियो। अहिले त त्यो चलन पनि हरायो कि जस्तो छ। परिचय माग्नुको सट्टामा फेसबुक आइडी नाम सोधिन्छ या नम्बर आदानप्रदान हुन्छ। त्यो समयमा परिचय गर्नुपथ्र्यो।
“सेवारो! मेरो नाम चाहिँ सञ्जय तुम्बाहाङ्फे (कोशी किनारे)।
मेरो गाउँ चाहिँ परेवादिन–२ छापाङ।
मेरो जिल्ला चाहिँ धनकुटा।”
“सेवारो! मेरो नाम चाहिँ इसा (प्रतिक्षा) लावती
मेरो गाउँ चाहिँ मौवा ७ चुवाडे ।
मेरो जिल्ला चाहिँ पाँचथर।”
टाढाका मान्छेहरूसँग परिचय गर्नुप¥यो भने हातखुट्टा काँप्थे, बोली लटपटिन्थ्यो। कतिको त नाम–ठेगान याद हुँदैनथ्यो। याद भए जतिको चिट्ठी पनि लेखिन्थ्यो, आउँथे पनि। अर्को रमाइलो पल यो पनि थियो कि भदौपुर्णे मेलामा चिट्ठीपत्र लेख्ने थाङ्बेन मेन्छ्याहरूका लागि, पत्रमित्रता गर्नेहरूका लागि भेट्ने सङ्गम स्थल पनि थियो। कति थाङ्बेन मेन्छ्याहरू चिट्ठीकै आधारमा यहाँ भेटघाट गर्थे, कति चाहिँ भेटघाट गर्न नसकेर निराशले फर्किन्थे पनि।
मैले दुईजना पत्रमित्र साथीहरूलाई पहिलो पटक यहीँ भेटेको हुँ— गनिन्द्र विवस सुब्बा र जे.बी. खवाहाङ क्षितिजलाई। उतिबेला गनिन्द्र विवस रेडियोमा चर्चित थिए भने जे.बी. खवाहाङ क्षितिज साहित्यिक लघु पत्रिकामा चर्चित। उनीहरू दुवैसँग मेरो सम्पर्क चिट्ठीबाट थियो अर्थात् पत्रमित्रताबाट। रेडियो फर्माइसबाट या पत्रपत्रिकाबाट थुप्रै नाम चलेका व्यक्तित्वहरूलाई मैले भदौपुर्णे मेलाबाट भेट्ने अवसर प्राप्त गरेको छु। सम्झनामा रहेसम्म जितलाल कुरुम्भङ, जसले एक पत्रिका निकाल्नुहुन्थ्यो; रेवत बिरानो पारघारी, युनिषा एक्लो, दिपकला दोषी— उहाँहरू रेडियो फर्माइसमा नाम चर्चित थियो। नाम भुलेँ, अन्य थुप्रै त्यस्ता व्यक्तित्वहरूलाई मैले भदौपुर्णे मेलाबाट भेट्ने अवसर पाएको थिएँ।
गनिन्द्र विवस र आँपको मीठो अचार
मेरो साथमा हुनुहुन्थ्यो रेडियो चर्चित श्रोता रामु एकान्तप्रेमी। हामी पुगेका थियौँ भदौपुर्णे मेला, शुक्रबारे बजार। हाम्रो प्रथम भेट भएको थियो गनिन्द्र विवससँग। रामु एकान्तप्रेमी र गनिन्द्र विवसको पनि त्यो सायद पहिलो भेट थियो। हामी भदौपुर्णे मेलाकै अवसरमा भेट भएका थियौँ। मेलाको वल्लो छेउ, पल्लो छेउ दिनभर गफ गर्दै कुदिरह्यौँ। साँझ परेपछि गनिन्द्रजीले प्रेमिल जिद्दी गर्नुभयो, “तल मेरो घर झरौँ।” हामीले नाइँ भन्न पनि सकेनौँ र झ¥यौँ एक–दुई घण्टा ओरालो नै ओरालो फाक्चामारा बतासे। बाटोमा हामीले साहित्यको खुब कुरा गर्दै झ¥यौँ। घरमा उहाँको भाउजू हुनुहुन्थ्यो। मैले बिर्सन नसकेको चाहिँ रातिको खानामा भाउजूले दिनुभएको खानाका साथ थोरै अमिलो दही र आँपको अचार। त्यो अचार मैले भुल्नै नसकिने गरी साह्रै मिठो थियो। गनिन्द्र विवस यो नाम सम्झिने बित्तिकै मलाई परेवाखोप गाउँको याद आउँछ र गनिन्द्र ज्यूको ठूलो घुमाउने घर अनि त्यो आँपको अचार जिब्रोमै झुन्डिएर आउँछ।
उतिबेला गनिन्द्र विवसजी खुब गजल लेख्नुहुन्थ्यो। खुब मात्रै होइन, गजब मिठो लेख्नुहुन्थ्यो। उहाँको अक्षरहरू यति राम्रा थिए कि साह्रै सुन्दर हस्तलिखित। पछि एउटा उपन्यास लेख्नुभयो, त्यसपछि अरू लेख्नुभएन। यतिबेला उहाँ कोरिया हुनुहुन्छ। हामी कहिलेकाहीँ कुराकानी गर्छौँ। म सोध्छु उहाँलाई, “किन लेख्नुहुन्न अचेल?” उहाँ हाँसोले मात्र जवाफ दिनुहुन्छ। मलाई लाग्छ, गनिन्द्र विवसले जे लेखोस् तर लेखिरहोस्।
डबका–डबकामै छुटेका जे.बी. खवाहाङ क्षितिज
त्यो बेला जे.बी. खवाहाङ क्षितिजले ज्वारभाटा साहित्यिक पत्रिका चलाउँथे। म त्यो पत्रिकाको प्रतिनिधि थिएँ। हाम्रो प्रथम भेट थियो उहीँ भदौपुर्णे मेलामै। हामी उसैगरी साहित्यको कुरा गर्दै दिनभर घुमिरह्यौँ र रात परेपछि साहित्यकारको आदत, त्यसमाथि खाट्टी लिम्बू डबका (जाँड) नजाने कुरै भएन। हामी छिर्र्यौँ होटलतिर। जे.बी. अघि नै हल्का हल्लिने भइसकेका थिए। हामीले डबका समाउन थालिहाल्यौँ। उनी क्रान्तिकारी लेखनका पक्षपाती, उनका रचनाहरू पनि त्यस्तै हुन्थे। क्षितिजका छल्याङहरु (उनको हवाई हाइकु सङ्ग्रह) आइसकेको थियो। साथमा थिए कवि अनिल पाक्साँवा पनि। हामी साहित्यको बारे कुराकानी गरिरहेका थियौँ। एकजना मातेको मान्छे त्यहाँ आइपुग्यो, हाम्रो कुरा सायद उसलाई दिक्क लाग्यो वा मन परेन। ऊ झोकिन थाल्यो—
“तिमीहरूले के नाप्छौ?”
जे.बी. पनि के कम! ऊ पनि झोकिन थाल्यो। स्थिति अराजकमा पुग्ला जस्तो लाग्यो। कुरालाई सामसुम गर्न खोजेँ। उनीहरू झन्–झन् झोकिन थाले। म चुपचाप बाहिरिएँ। उनीहरू झोकिँदै थिए, पछि अर्को मातेको हुल आएर त्यहाँ होहल्ला गर्न थालेछन्। त्यही बिचमा जे.बी. फुत्त निस्किएर बाहिरको हुलमा गायब भएछन्। अनिलले एकछिन जे.बी. को पिछा गरेछन्, नभेटिएपछि अनिलले उसको खोजी गर्न छाडेछ। त्यहाँदेखि जे.बी. सँग हाम्रो भेट निकै सालपछि मात्र धनकुटा सदरमुकाममा भएको थियो। त्यो बखत पनि बिहीबारे हटियाको एक खाजाघरमा छिरेर डबका समायौँ र पुनः छुट्टियौँ। त्यसपछि चाहिँ आजसम्म पनि जे.बी. सँग हाम्रो भेट भएको छैन। आश छ, हाम्रो पुनर्भेट अबका दिनहरूमा उहीँ भदौपुर्णे मेलाले गराउने छ।
साहित्यमय भदौपुर्णे मेला
हामी चारजनाहरू— म (कोशी किनारे÷सन्जय तुम्बाहाङ्फे), प्रकाश नाम्सामी, मधुसूदन बस्नेत र अनिल पाक्साँवा उतिबेला फुक्कोफाल साहित्यका बेगारी हरू थियौँ भन्दा हुन्छ। मधुसूदन हल्का पढ्दै थिए। हाम्रो पछि–पछि थिए दिल प्रतीक्षा पनि। उनी अलिक व्यस्त थिए र पनि हाम्रा समूहका खलक नै थिए।
दिल प्रतीक्षा गजल लेख्थे, आफ्नै याक्थुङ् भाषामा पनि लेख्छन्। दिल प्रतीक्षाको एउटा गजलको किताब प्रकाशन भइसकेको छ। पछिल्लो समयमा दिलले लिम्बुवान आन्दोलनमा आफ्नो दिलोज्यानसहित ठूलो योगदान पु¥याइरहेका छन् र याक्थुङ् छत्थरे लिम्बू भाषाका लागि पनि निरन्तर काम गरिरहेका छन्। दिल सिङ्गो याक्थुङ् समुदायको सांस्कृतिक÷भाषिक अध्येतादेखि हरेक अधिकारका लागि सशक्त एक योद्धाहरू हुन्।
प्रकाश पाक्साँवा नाम्सामी सुरुमा गजलकार थिए । लिम्बुवान लयमा डुबेर गजल लेख्थे। पत्रकार बन्छन् भन्ने मलाई रत्तिभर अनुमान थिएन। तर, उनले टिकटिके फोनको म्यासेजबाट पत्रकारिताको बीज रोपे। उनले लिम्बुवान आन्दोलनका लागि लात्ती खाए, क्यामेरा लुटाए, तर उनको हैरानीको सुनुवाइ लिम्बुवान आन्दोलनका नेतृत्वहरूले टेढो आँखा लगाएर पनि नजरअन्दाज गरिदिएनन्। उनको मन नमिठो भाँचियो र उनले लिम्बुवान आन्दोलनबाट बिस्तारै टाढा दूरी बढाएर रहन थाले। उनको गुनासो छ, “आन्दोलनमा नेतृत्वहरूको कमान्डिङ नै ठीक छैन।”
अनिल पाक्साँवाले राम्रो कविता लेख्न थालेका थिए। साहित्यिक कार्यक्रम भनेपछि भोकै, तिर्खै जस्तोसुकै दुःख बोक्न पनि तयार हुन्थे। ऊ अनौठो, फरक किसिमका नयाँ कविताहरू लेख्न रुचाउँथे। बिचमा मोहन वैद्य पक्षको माओवादी समूहमा कसो पुगेछन् र उनी होलटाइमर राजनीति गर्न थालेछन्। त्यसपछि त उनी कहिले कहाँ, कहिले कहाँ? अचेल कहाँ छन्, पत्तो नै छैन।
मधुसूदन बस्नेतको लेखन नेपाली साहित्यको प्रसिद्ध तेस्रो आयाम आन्दोलनको जस्तो लाग्थ्यो। उनको निबन्ध र कविताहरू यति गहिरो हुन्थ्यो कि निकैबेर घोरिनु पथ्र्यो। मधुसूदनका दुईवटा किताब आइसकेका छन — ’रचनाभित्रको स्मृति’ र ’रक्तरञ्जित झुपडी’ (निबन्ध र उपन्यासको)। शान्त स्वभावका मधुसूदन यति झोंक्की थिए कि कुनै कार्यक्रम गर्नुप¥यो भने जसरी पनि गरिहाल्नु पर्ने। कार्यक्रम आयोजना देखि कार्यक्रममा उपस्थित सम्पूर्ण सर्जकहरूको चिया खर्च आफैँ निकाल्थे। तर, पछि आएर मधुसूदनले खै किन हो, लेख्नै छाडिदिए।
हामीलाई शुक्रबारेमा साहित्यको हल्लाखल्ला गर्नैपर्ने, विभिन्न कार्यक्रमहरू गर्नैपर्ने। शुक्रबारे बजार तेह्रथुममा पर्छ। म धनकुटे परे तर शुक्रबारे वारि पथ्र्यो मेरो गाउँ, त्यो हिसाबले म नजिक नै थिएँ। शुक्रबारे पुग्यो कि म, प्रकाश, मधुसूदन, अनिल भेट हुनैपर्ने। उतिबेला प्रकाश माथि बजारमै बस्थे, मधुसूदन उतैको निवासी।
शुक्रबारेमा हामी भन्दा सिनियर लेखकहरू (दिनेश बेगारी) को समूहले पनि कार्यक्रमहरू गरिरहनु भएको थियो तर उहाँहरूसँगको सहकार्य चाहिँ खै किन हो, हुनै सकेन। शुक्रबारेमा थुप्रै पटक साहित्यिक सङ्गठन र जमातहरू निर्माण गरियो— प्रलेस, छथरे कला–साहित्य समूह, छथरे श्रष्टा मञ्च, छथर साहित्य मञ्च लाग्छ अरू पनि थुप्रै छन्। ती सबैको उद्देश्य नेपाली साहित्यका लागि काम गर्नु नै थियो र छथरमा रहेका प्रतिभाहरूलाई मञ्च दिनु नै थियो। हामीले नयाँ प्रतिभाहरूलाई मञ्च बाँड्दै गर्दा केही त्यस्ता प्रतिभाहरू पनि थिए जो निकै राम्रो सम्भावनाको नजिक थिए। उनीहरू खुब मिहिनेत गरिरहन्थे, कार्यक्रममा निरन्तर उपस्थित भएर नयाँ–नयाँ सिर्जना सुनाइरहन्थे। त्यस्तोमा मिठो मुक्तक लिएर तल पोखरीबाट नियमित आइरहन्थे कृष्ण दुःखी सुब्बा, उनको सबैभन्दा धेरै याद छ मलाई। अर्का थिए प्रवीण रसाइली जो गजल लेख्थे, तिनी पनि तल (खैरेनी) बाट आइरहन्थे। अरू पनि थुप्रै थिए, मैले नाम भुलेँ।
मेरो अन्तिम भदौपुर्णे मेला
त्यो सालको भदौपुर्णे मेला मेरो लागि अन्तिम थियो। सधैँझैँ कार्यक्रम गर्नुपर्ने नै भयो। अतिथिहरूलाई पनि बोलाउने निर्णय गरिएको थियो तर त्यो भनेजस्तो व्यवस्थित गर्न सकिएन। समय कम थियो, छोटो समयमा हतारको तयारीले थुप्रै कुराहरू गर्न सकिएको थिएन। प्रकाश, मधुसूदन, अनिल र अन्य साथीहरू बिहानैदेखि कार्यक्रमका लागि भागदौड गरिरहेका थिए। कार्यक्रमका लागि मनोज चुलबुले म्याङ्लुङबाटै आइपुगेका थिए। नुबुवाखोला कटेर पूरै एक बिहान हिँडेरै सुङ्नामबाट आइपुगेका थिए रुवइयातकार आर.बी. लुङ्माहिम पनि। छोटो जिउडालका, बडो फुर्तिलो लुङ्माहिम कम हँसाउँदैन थिए। बिचबिचमा लिम्बू भाषा मिसाउँदै बोल्ने उसको ठट्यौली कुराले हामी हाँसेर हैरान नै हुन्थ्यौँ। भुइँमा पिचिक्क थुक्थ्यो अनि हत्केला फनफनी नचाउँदै टाउको घुमाएर आर.बी. लुङ्माहिम तुरुन्तै बोलिहाल्थे—
“आरे हाव जाँठा! जुनेली रात र मायाप्रेमको मात्रै लेखेर हुन्छ?”
अनिल र म निकै सालसम्म उसको यो डाइलग भन्दै हाँसिरह्यौँ। शुक्रबारेमा उतिबेला पुरानो एक सिनेमा हल थियो। हामीले कार्यक्रम त्यही हलमा गरेका थियौँ। हल त एकैछिनमा खचाखच भरियो। राम्रो साउन्ड सिस्टमको जोरजाम गर्न त्यो बेला गाह्रो हुन्थ्यो। स्थानीय गायक डोलेन लिम्बूले हाते उफर माइक कार्यक्रमका लागि सौजन्य गरिदिए। गीत गाउनेले गीत गाए, कविता, मुक्तक, गजल, पालाम भन्नेले धमाधम गाउन र वाचन गर्न थाले। केही समयसम्म हल यति खचाखच हुन पुग्यो कि मान्छेहरू उभिएरै कार्यक्रम हेर्न थाले।
कार्यक्रम चलिरहेको बेला एउटा मान्छे हल बाहिर आएर भित्रतिर चिहाउँदै भनेका थिए—
“मेलाका पूरै आधा मान्छे कहाँ हराए भनेको त यहाँ पो रहेछन”
हामीलाई लाग्यो, कार्यक्रम भव्य रूपले सफल भएछ। त्यसपछि हामी छुट्टियौँ र आजसम्म फेरि भदौपुर्णे मेलाका नाममा हामी भेटेका छैनौँ।
मलाई भने त्यो पललाई फेरि ब्युँझाउन मन लागेको छ। गनिन्द्र विवस कोरियामा छन्, रामु एकान्तप्रेमी घरमै। प्रकाश पाक्साँवा गाउँदेखि नै सक्रिय पत्रकारिता गरिरहेछन्। दिल प्रतीक्षा पहिचान र भाषा आन्दोलन गर्दै शुक्रबारेमै छन्। मधुसूदन पनि निजी विद्यालय सञ्चालन गर्दै शुक्रबारेमै छन्। बेपत्ता हुनेहरू चाहिँ— जे.बी., आर.बी., अनिलहरू हुन्। खै कहाँ छन् अचेल उनीहरू? मैले बेसरी उनीहरूलाई सम्झेको छु। उनीहरूलाई मेरो सम्झनाले बाडुली लाग्ला नलाग्ला, त्यो त म थाहा पाउन सक्दिनँ तर कथमकदाचित बाडुली लाग्दो हो भने मैले उनीहरूलाई सम्झनाको त्यो बाडुलीमा एउटा अनुरोध पठाइदिएको छु—
“प्रिय साथीहरू ! नमरे बाँचे आउँदो भदौपुर्णे मेलाहरूमा कसैगरी भेटौँ हैँ!! सम्झेको छु, अचाक्ली सम्झेको छु।”
(३१ जुलाई २०२५, हाल साउदी अरब)