फेदाप गाउँपालिकाको युवा लक्षित नयाँ नितीः उत्पादन र स्वरोजगारमा जोड

तेह्रथुम १० असार
फेदाप गाउँपालिका तेह्रथुमले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने युवाहरुलाई लक्षित गर्दै नयाँ नीति सार्वजनिक गरेको छ। सोमबारदेखि सुरु भएको गाउँसभाको १९ औं अधिवेशनमा अध्यक्ष केशव प्रसाद भेटुवालले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरु सर्वसम्मत पारित भएका छन ्।

नयाँ नीतिअनुसार, युवाले बैंक वा वित्तीय संस्थाबाट निश्चित सीमाभित्र ऋण लिएर उत्पादनमुखी तथा रोजगारमुखी व्यवसाय सञ्चालन गरेमा सो ऋणको ब्याज गाउँपालिकाले बेहोर्ने व्यवस्था मिलाइएको छ । यसले युवाहरुलाई व्यवसायमा प्रोत्साहन दिने विश्वास गरिएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, दक्षता र अनुभवलाई पहिचान गरी स्वरोजगारमा अग्रसर गराउने कार्यक्रम पनि नीति अन्तर्गत समावेश गरिएको छ । त्यस्ता युवाहरुका व्यवसायिक प्रस्तावको आधारमा कार्यक्रम सञ्चालन गरिने छ भने उद्यमशील बन्न चाहने युवाहरुलाई मागअनुसार व्यवसायिक तालिम प्रदान गरिने उल्लेख गरिएको छ ।