धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विभिन्न जातजातिहरुको कला र संस्कृतिलाई संरक्षण गर्ने भएको छ ।
ध्वोजेडाँडा बहु-साँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्धेश्यले साेही पालिकाले योजना अगाडि बढाएको हाे । प्राकृतिक रुपमा सुन्दर क्षेत्रको रुपमा रहेको ध्वोजेडाँडा पर्यटकीय सम्भावना बोकेको स्थान हो । ध्वोजेडाँडा क्षेत्रमा छथर ग्रेटवाल, लिम्बु जातिहरुको सिलाम डालेपोखरी र लभ स्टेन लगायतका भौतिक पुर्वाधार निमार्ण गरिएका छन् ।
कोशी राजमार्ग नजिकै रहेको डाँडालाई पार्कको रुपमा निमार्णसँगै पर्यटकहरु आउन थालेका छन । पार्कको विकाससँगै यहाँका स्थानीयको आयआर्जनका साथ पर्यटकहरुको आकर्षण केन्द्र हुने गाउँपालिका अध्यक्ष छत्र सुब्बाको तर्क छ ।
गाउँपालिकामा बसोबास गर्दै आएका सबै जातजातिहरुको अस्तित्व झल्किने खालका स्तम्भहरुको निर्माण हुने भएपछि पार्क निर्माणमा स्थानीयले सहयोग गरेका छन् । पर्यटकीय रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गर्दै आएको गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवाले बताउनुभयो ।
सातडाँडा, स्तम्भ र सात पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ यस क्षेत्रलाई विकास गर्ने तयारी भइरहेको छ । गाउँपालिकाको सबै भन्दा ठूलो र जिल्लाकै पहिलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेकाे छ