प्रकाश पाक्साँवा
तेह्रथुम ३० असोज
तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा ग्रामिण क्षेत्रका किसानहरुलाई पशुपक्षी तथा कृषि (बालि) बिमा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । सोमबार छथर सुक्रबारेमा किसानहरुलाई बिमाको बारे ज्ञान दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको दि ओरिएण्टल कम्पनी लिमिटेड तेह्रथुमले जनाएको छ ।
करिब २५ जना सहभागीता रहेको कार्यक्रममा बिमा भनेको के हो ? बिमा व्यवसायको किसिम? कृषि बिमा भनेको के हो ? पशुपक्षी तथा कृषि बिमा किन गर्ने? कृषि बिमाको प्रिमियममा कृषकलाई अनुदान किन दिने? क्षतिाको मुल्याङकन,पशुपक्षि तथा कृषि बिमाको दाबी भुक्तानी प्रकृया,बिमा भुक्तानीमा आवश्यक कागजातहरु र बिमित पशुघनको दाबी नलाग्ने अवस्थाहरु लगायतको बिषयमा छलफल भएको दि ओरिएण्टल कम्पनी लिमिटेड तेह्रथुम शाखा प्रमुख अर्जुन ढुंगानाले बताउनु भयो । तेह्रथुममा २ बर्ष यता मात्रै ६२ लाख ५३ हजार ५ सय १८ रुपैयाँ पशुपक्षी तथा तरकारी बालि बिमा किसानलाई दावी भुक्तानी गरिएको कार्यालयले जनाएको छ ।
छथर गाउँपालिकामा पशुपक्षी तथा कृषि(बाली) बिमालाई प्रभावकारी बनाउन आगामी दिनहरुमा बिमाको महत्वका साथै बिमाको आवश्यकताबारे किसानहरुलाई सचेतिकरण गर्दै जाने कृषि शाखा छथर गाउँपालिकाका प्रमुख सुमन पौडेलले बताउनु भयो । बिमाको बारे ज्ञान नहुँदा किसानहरुले आफ्नो लगानी गुमाउँदै आउनु परेको छथर ६ सुदापका काजि आंखेवाले बताउनु भयो । ‘हामीले बिमा सुनेका मात्रै थियौ बिमाको महत्व बुझन नसक्दा हाम्रो लागनी गुमाउँदै आएको रहछौ,’ उनले भने ।कृषि तथा पशुसेवा शाखा छथर गाउँपालिकाको आयोजना तथा दि ओरिएण्टल कम्पनी लिमिटेड तेह्रथुमको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।