छथर गाउँपालिकाको गाउँसभा ः सामाजिक सुरक्षा, पूर्वाधार र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

0

प्रकाश पाक्साँवा
तेह्रथुम १० असार
तेह्रथुम — छथर गाउँपालिका, तेह्रथुमको १५औँ गाउँसभा तथा ९ औँ बजेट वक्तव्य कार्यक्रम छथर–४ स्थित थाक्चोलुङ्ग तोपा माङ्हिमको परिसरमा सम्पन्न भएको छ । माङ्हिममा सम्पन्न उक्त कार्यक्रम मार्फत गाउँपालिकाले आगामी वर्षका लागि विविध सामाजिक, पूर्वाधार तथा उत्पादनमुखी कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

गाउँपालिकाले जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने गरी न्यूनतम विद्युत महसुल रू ३० रुपैयाँ सम्पूर्ण घरधुरीको तर्फबाट पालिकाले तिर्ने निर्णय गरेको सार्वजानिक गरिएको छ । साथै, सामाजिक सुरक्षामा विशेष ध्यान दिँदै एकल पुरुष प्रोत्साहन कार्यक्रम अन्तर्गत मासिक १ हजार, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक १ हजार भत्ता, वृद्धवृद्धा सम्मान तथा लौरो उपहार कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले कार्यक्रममा बताए ।

शिक्षाको क्षेत्रमा पनि पालिकाले विशेष जोड दिँदै विद्यालयमा सञ्चालित कम्प्युटर शिक्षा कार्यक्रमलाई निरन्तरता दिने र बाल शिक्षक कर्मचारीलाई पालिकाबाट दिइँदै आएको साझेदारी तलब ७ हजार कट्टा नगरी निरन्तरता दिने निर्णय गरेको छ ।

कृषिमा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले बाँझो जमिनमा फलफूल खेती गर्ने किसानलाई ५० प्रतिशत साझेदारीमा विरुवा अनुदान दिने नीति ल्याइएको छ । पूर्वाधार विकासको पक्षमा शुक्रबारे–फाक्चामारा–शनिश्चरे हुँदै हाक्पाराघाटसम्मको सडकलार्ई स्तर उन्नतिको प्रक्रिया प्राथमिकतामा राखिएको छ । स्वास्थ्य र सामाजिक कल्याणतर्फ निःशुल्क एम्बुलेन्स सेवा प्रवाहलाई पनि निरन्तरता दिइने छ भने शिशु प्रोत्साहन कार्यक्रमलाई पनि यथावत् राख्ने नीति प्रस्तुत गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

गाउँसभा कार्यक्रमले समावेश गरेका यी निर्णयहरूले छथर गाउँपालिकाको समग्र सामाजिक, आर्थिक र भौतिक विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed