कोसीका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने, मन्सुरीले पनि मत दिने

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार)नै विश्वासको मत लिने भएका छन्। दिउँसो ३ बजेपछि बस्ने प्रदेशसभा बैठकबाट थापाले विश्वासको मत लिने बताइएको छ। विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेलाई बैठक बोलाइएको थियो। 

तर, विश्वासको मत लिने कि नलिने भन्ने दुविधाका बीच बैठक बस्न सकेको छैन। स्रोतका अनुसार प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने प्रदेशसभा सदस्यलाई नै मतदान गर्न लगाएर भए पनि थापाले विश्वासको मत लिन लागेका हुन्। 

सत्तारुढ गठबन्धनको सोमबार दिउँसो बसेको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको हो। सभामुखको अनुपस्थितिमा प्रदेशसभाको अध्यक्षता गर्दै आएकी उपसभामुख सिर्जना दनुवार उपचारका लागि भन्दै सोमबार बिहान काठमाडौं पुगेकी छन्। 

विश्वासको मत लिने प्रदेशसभा बैठकमा उपसभामुख अनुपस्थित हुने भएपछि थापाले विश्वासको मत लिने कि नलिने भन्नेमा गठबन्धनमा दुविधा उत्पन्न भएको थियो। 

मुख्यमन्त्री थापालाई विश्वासको मत पाउने वातावरण नबनाउन एमाले र राप्रपाका ज्येष्ठ प्रदेशसभा सदस्यहरू बिदामा बसेका छन्। एमालेका ७ र राप्रपाका १ जना ज्येष्ठ सदस्य बिदामा बसेका छन्। 

काठमाडौं जानुअघि उपसभामुख दनुवारले कांग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिइन्। मन्सुरीले सभाको अध्यक्षता गर्दा मुख्यमन्त्रीलाई विश्वासको मत दिन मिल्दैन। त्यही कारण विश्वासको मत लिने कि नलिने भन्नेमा गठबन्धन अलमलिएको थियो। 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ प्रदेशसभा सदस्य चाहिन्छ। सत्ता गठबन्धनसँग ठिक्क बहुमत (४७) पुग्ने संख्या मात्रै छ। तीमध्येबाटै सभासदको अध्यक्षता गर्नुपर्ने अवस्था आउँदा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने वातावरण बन्दैन थियो। 

तर, उपसभामुखले आह्वान गरेको बैठक अरूले स्थगित गर्न नमिल्ने भएपछि थापा विश्वासको मत लिनैपर्ने बाध्यतामा पुगेको गठबन्धनका एक जना प्रदेशसभा सदस्यले बताए। 

माओवादीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दुर्गा चापागाईंले मुख्यमन्त्रीले आज नै विश्वासको मत लिने बताए। ‘सभाको अध्यक्षता गर्ने माननीयले पनि मतदान गर्नुहुन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्छ।’ आजको प्रदेशसभा बैठक मन्सुरीले सञ्चालन गर्ने छन्। उनलाई पनि मत हाल्न लगाएर थापाले विश्वासको मत लिन लागेका हुन्। साभारःअन्नपुर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *