ऐतिहासिक भदौरे पूर्णिमा मेलामा भव्य खेलकुद तथा सांस्कृतिक कार्यक्रम साउन १९ देखी २७ गतेसम्म

✍️ प्रकाश पाक्साँवा
तेह्रथुम १८ साउन
तेह्रथुम जिल्लाको छथर गाउँपालिका सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पूर्णिमा मेलाको अवसरमा साउन १९ गतेदेखि सुरु हुने विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरु भव्य रूपमा आयोजना हुने भएका छन् । छथर गाउँपालिकाको आर्थीक सहयोगमा प्रतियोगिता तथा कार्यक्रम आयोजना हुने भएको आइतबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम सार्वजानिक गरिएको छ ।
खेलकुद पर्यटकको रुपमा विकास गर्ने उदेश्यका साथ विगत बर्षहरुदेखी गाउँपालिकाले विगत बर्षदेखी नै विभीन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।
छैटौं छथर गाउँपालिका अध्यक्ष आमन्त्रित फुटबल प्रतियोगिता, स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता र तेह्रथुम जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता बारे जानकारी दिइएको हो। फुटबल प्रतियोगिता साउन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन्। भलिबल प्रतियोगिता साउन २५ देखि २७ गतेसम्म हुनेछ। यसतर्फ विजेताले १ लाख ५१ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ८० हजार, प्रमाणपत्र, मेडल र ट्रफी पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनु भयो ।
व्याडमिन्टन प्रतियोगिता साउन २१ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। जिल्ला स्तरीय ‘बी डिभिजन’ र पालिका स्तरीय ‘सी डिभिजन’मा प्रतिस्पर्धा हुनेछ। दुवै डिभिजनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र दुई टिमले ७ हजार ५ सय रुपैयाँका दरले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । जिल्ला स्तरिय चेन्स प्रतियोगिता समेत सञ्चालन हुने भएको छ । मेलाका सांस्कृतिक कार्यक्रमहरू साउन २३ गते सांगीतिक कार्यक्रम अन्तर्गत गायक पदम राई, गायिका सृष्टि हिङ्गाङ्ग, लक्ष्य ब्याण्ड धनकुटा, दुर्गा गहतराज, टाट्नो सङ्गीत यात्रा, स्थानिय कलाकारहरु, शुक्रबारे एसकेभी ब्याण्ड र शुक्रबारे श्रीकृष्ण डान्स सेन्टरको प्रस्तुती रहनेछ ।
साउन २४ गते दिउँसो औपचारिक कार्यक्रम, धामीझाँक्री नाच, लोपोन्मुख लोक नृत्य प्रदर्शन र साँझमा साहित्यिक गजल महफिल हुनेछ। सांगीतिक प्रस्तुतीमा गायक साजन राई, बविना किराती, इन्द्र सुशिल चोम्वाङ, पुर्ण लिम्बु, साथै स्थानिय कलाकार, स्काइ डान्स सेन्टर र सिधुवा डान्स सेन्टरको प्रस्तुती समावेश गरिनेछ। साउन २५ गते चर्चित गायिका समिक्षा अधिकारी, अन्जु गौतम, कञ्चन रिमाल, द्रव्य व्याण्ड, शुक्रबारे डान्स सेन्टर, सिधुवा डान्स सेन्टर र स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ।
साउन २६ गते मेलाको अन्तिम साँझमा गायक मिलन नेवार, अनिल लिम्बु, हेमुस्मृति चोम्वाङ, शुक्रबारे डान्स सेन्टर, सिधुवा डान्स सेन्टर, एसकेभी व्याण्ड र अन्य स्थानिय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।